दसैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

दसैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

बडादसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।
 
कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 
चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । 
 
“चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई  आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले हामीले बडादसैंका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ, उनले भने ।
 
कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले  निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन् । उनले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टयाएर उक्त आश्रमलाई  सहयोग गर्न नगरबासीलाई आग्रह गरेकी छिन् । 
 
बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाण्डौ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् ।  कोहलपुर शाखामा रहेका २८ जना जेष्ठ नगरिकलाई नेपाली सेनाले बडा दसँैंको दिन भोजन खुवाउनाका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयवागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ८ कार्तिक २०८०, बुधबार ०७ : ३० बजे