सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख १७ हजार

0
Shares

दसैं लगत्तै सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । शुक्रबार प्रति तोला १ लाख १६ हजारमा कारोबार भएको सुनको मूल्य आज १ हजारले बढेर १ लाख १७ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ लाख १७ हजार रुपैयाँमा खरिद बिक्री भैरहेकाे छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा भएको वृद्धिसँगै आज चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी देखिएको छ । आज चाँदी प्रति तोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज मात्रै सुनको मूल्य १.१० प्रतिशतले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड तोडेको हो । यस्तै आज अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रति औंस २३.११ डलरमा कारोबार भइरहेको छ ।

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएकाले सुनको मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरुको भनाइ छ । भाउ बढ्ने क्रम अझै जारी रहने उनीहरुको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।