दसैं बिदा सदुपयोग गर्न नजिकको गन्तव्य कुलेखानी

0
Shares

दसैं तिहारको बिदा सदुपयोग गर्न काठमाडौंदेखि नजिकै मनोरञ्जन लिन तथा घुमघामका लागि कुलेखानी गन्तव्यस्थल बन्न सक्छ ।

काठमाडैंबाट करिब दुई घण्टाको गाडी यात्रामा पुग्न सकिने कुलेखानीमा हाइक जानु सकिन्छ भने त्यहाँका होमस्टे तथा होटलहरुमा बसेर अर्गानिक खाना तथा माछाका विभिन्न परिकारको स्वाद लिन सकिन्छ । 

जलविद्युत आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानीमा थप रौनक थपेको छ । जहाँ पर्यटकहरु डुङ्गामा सयर गर्न सक्छन् भने ड्यामको मनमोहक दृश्य हेरेर आफूलाई प्रफूल्ल पार्न सक्छन् । ड्याम हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दै जाँदा इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ ।

कुलेखानी क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदलमार्गका रूपले पनि चिनिन्छ । दक्षिणकाली–हेटौंडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ ।

काठमाडौंबाट छोटो दूरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किमिको यात्रापछि पुग्न सकिन्छ । निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ । जंगलैभरि फुलेको लालीगुराँसले यात्रालाई थप मनमोहक बनाउँछ । राताम्य फुलेका लालीगुराँस अनि गाउँले परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुल्दै काठमाडौं जिल्लालाई छोडेपछि मकवानपुर जिल्लाको सिमाना प्रारम्भ हुन्छ ।

कुलेखानी क्षेत्रको अर्को बिशेषता भनेको माछा हो । लोकल माछा खानका लागि यो स्यान उपयुक्त मानिन्छ । यहाँ आउने आगन्तुकका निमित्त होटल तथा रिसोर्टहरू छन् । हेटौंडा र काठमाडौंबाट बढी पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । इन्द्रसरोवरमा करिब ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ । सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।