घोराही सिमेन्टसको बिक्री आम्दानी र खुद नाफा दुबै घट्यो

0
Shares

घोराही सिमेन्टस इन्डष्ट्री लिमिटेडको बिक्री आम्दानी र खुद नाफा दुबै घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ७५.३३ प्रतिशतले घटेको हो ।

कम्पनीले २०८० असार मसान्तसम्ममा ५ करोड ३४ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २१ करोड ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिक्री आम्दानी घटेको र बढ्दो खर्चले गत असार मसान्तसम्ममा कम्पनीको खुद नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको बिक्री आम्दानी ३.६७ प्रतिशत घटेर ४ अर्ब ६२ करोड ५४ लाख ५४ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ८० करोड १५ लाख ३० हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको बिक्री खर्च ३ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ छ भने अन्य आय पनि २४ करोडबाट घटेर १७ करोड ३८ लाखमा सीमित भएको छ । यस्तै वित्तीय खर्च पनि अघिल्लो ३९ करोड रहेकोमा गत आवमा ४४ करोड ५४ लाख रुपैयाँमा पुगेको छ ।

चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रहेको कम्पनीको नाफा घटेसँगै प्रति सेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ६ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रति सेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष २२.०३ प्रतिशत घटेर ३ अर्ब १३ करोड ६८ लाख ६ हजार कायम भएको छ । कम्पनीको रिटेर्न अर्निङ्ग कोषमा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।