कोभिड अघिकै अवस्थामा फर्कियो पर्यटन व्यवसाय, अक्टोबरमा मात्रै झण्डै सवा १ लाख पर्यटक भित्रिए

0
Shares

नेपालमा पर्यटन आवागमन कोभिड महामारी पूर्वकै अवस्थामा फर्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ को दश महीना अर्थात् अक्टोबरमा हवाई मार्गबाट मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल आएका हुन् । पर्यटक आगमन पछिल्लो तीन वर्षयताकै धेरै हो ।

कोभिडपछिको ह्वात्तै घटेको पर्यटकको आवागमन २०२३ को अक्टोबर महीनासम्म आइपुग्दा पूर्ववत अवस्थामा फर्किएको देखिएको हो । यो तथ्यांक स्थलमार्गबाट आएका र भारतीय बाहेकको तथ्यांक हो । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् । सन् २०१९ को अक्टोबर महीनाको तुलनामा सन् २०२३ अक्टोबर महीनासम्ममा ३.१ प्रतिशत अर्थात् ३ हजार ४९० धेरै भित्रिएका हुन् ।

पछिल्लो तीन वर्ष (सन् २०२० देखि २०२२) सम्ममा पर्यटक आगमन न्यून भएपनि सन् २०२३ को दश महीनाको तथ्यांकमा भने पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ । यसबीचमा सन् २०२२ को अक्टोबर महीनामा ८८ हजार ५८२ जना, सन् २०२१ अक्टोबरमा २३ हजार ३३८ जना र कोभिड मध्यकालमा रहेको सन् २०२० को अक्टोबर महीनामा २ हजार २५ जना मात्रै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको विभागको तथ्याङ्क छ । सन् २०२० को नयाँ वर्षसँगै नेपालमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालमा घुमिफिर गर्ने उदेश्यका साथ भित्रने पर्यटकको संङख्या उच्च रुपमा घटेको थियो ।

माथिको तथ्याङ्क अनुसार कोरोना महामारीका कारण खुम्चिएको पर्यटन व्यवसाय अब भने पुनः पुरानै लयमा फर्किन थालेको देखिएको हो । अक्टोबरमा भारतबाट सबैभन्दा धेरै १८ हजार ४८० जना पर्यटक आएका छन्। यस्तै, दोस्रो धेरै अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक आएका छन्। यो अंग्रेजी वर्षको १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् । गत वर्षमा अक्टोबरसम्म पर्यटक आगमन गत वर्षको सोही अवधिसम्ममा ४ लाख ७४ हजार मात्रै थियो ।

सन् २०१९ मा नेपालमा हालसम्मकै उच्च अर्थात ११ लाख ९७ हजार पर्यटक भित्रिएका थिए । त्यसपछि कोरोना महामारी लागेको कारण सन् २०२० मा वार्षिक २ लाख ३० हजार, सन् २०२१ मा वार्षिक १ लाख ५० हजार र गत वर्ष सन् २०२२ मा वार्षिक ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मे महिनामा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगस्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना र अक्टोबरमा १ लाख १७ हजार ३०६ जना गरी कुल ८ लाख ९ हजार ६७८ जना विदेशी पर्यटक नेपाल घुम्न आएका हुन् । यसका आधारमा मासिक औसत ८० हजार ९६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपालमा सेप्टेम्बर अक्टोबर पर्यटकीय सिजन भएकोले यो बेला तुलनात्मकरूपमा अन्य समयमा भन्दा बढी पर्यटक आउने गरेका छन् । पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसाय र पर्यटन क्षेत्र होटल, रेस्टुरेन्ट, रिसोर्ट, एयरलाइन्स तथा हेलिकप्टर व्यवसायका व्यस्त हुन् थालेको छ ।
नेपालमा पर्यटक आगमनको मुख्य सिजन भनेकै अक्टोबरदेखि मार्च, अप्रिलसम्म मानिन्छ । सन् २०२३ को अक्टोबरमा आएका विदेशी पर्यटकको सङ्ख्या ४७ महिनापछिको धेरै हो । यसअघि सन् २०१९ को नोभेम्बर र डिसेम्बर महीनामा पर्यटक आवागमन एक लाख नाघेको थियो । २०१९ को नोभेम्बरमा १ लाख ३४ हजार ९६ जना तथा डिसेम्बरमा १ लाख ८६६ जना विदेशी पर्यटकले नेपाल घम्न आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।