गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ ।
कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ ।
भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन÷तीन तथा सल्यानमा एक जना घाइते भएका छन् । उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।
जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा लगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन् ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

पीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका हुन् ।
गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए ।
प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । यस्तै सरकारले आजै जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल पाँच/पाँच करोड बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो
गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।
निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ । दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौँ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।
