अठार सय छब्बिस अंकमा झर्‍यो सेयर बजार‚ आइतबार पनि ओरालो यात्रा जारी

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारले ओरालो यात्रा समातेको छ । अघिल्लो दिन बिहीबार १०.८६ अंकले घटेको तुलनामा आइतबार थप गहिरिएर नेप्से २१.४६ अंकले घटेर १८२६.२३ अंकमा झरेर बन्द भएको छ ।  यसअघि गत साता पाँच कारोबार दिन सेयर बजार खुला भएकोमा चार कारोबार दिन घटेको थियो भने सोमबार मात्र सामान्य बढेको थियो । गत ५६.१४ अंकले घटेको बजारमा यो साता सुरुवातमा नै उच्च अंकको गिरावट देखिएको हो ।

आइतबार कायम सूचक ६ महीनायताकै न्यून बिन्दु हो । यसअघि गत जेठ १ गते नेप्से परिसूचक १ हजार ८१८ दशमलव ३१ बिन्दुमा थियो ।  अधिकांश बैंकहरूको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको छ । इम्पेयरमेन्ट चार्जबापत बैंकहरूले ठूलै रकम छुटयाउनुपरेको छ । प्रथम त्रैमासमा बैंकहरूले नाफा बढाउन नसक्दा त्यसको असर पनि सेयर बजारमा परेको छ । यसले सेयर बजार झनै उच्च अंकले घटेको छ ।

आजको बजारमा बजारमा २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर ३९ हजार ३२२ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९७ करोड २३ लाख ६७ हजार २७९ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये होटल तथा पर्यटनमुलक ०.३८ प्रतिशतले बढ्दा बाँकी १२ वटा घटेका छन् छ । घटेकोमध्ये ब्यापार सर्वाधिक २.११ प्रतिशतले घटेको छ भने विकास बैंक १.६४ प्रतिशत, बैंकिङ्ग १.५० प्रतिशत, वित्त १.०८ प्रतिशत, जलविद्युत १.११ प्रतिशत, लगानी १.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनमुलक १.३२ प्रतिशत, निर्जीवन बीमा १.१८ प्रतिशत र म्युचुअल फन्डको उपसमुहगत सूचक १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

यसैगरी कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक सेयर ४ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख ७९ हजार, एनआईसी एशिया बैंकको ३ करोड ३ लाख ८० हजार, हिमालयन डिष्टिलरी २ करोड ८९ लाख ५९ हजार र नबिल बैंकको २ करोड ८७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै ६.९७ प्रतिशतले बढेर ६१४ रुपैयाँ पुगेको छ । यसैगरी तारागाउँ रिजेन्सी होटलको ५.४७ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२५ प्रतिशत, एशियन हाइड्रोपावर ३.७५ प्रतिशत र नेशनल माइक्रोफाइनान्सको २.७५ प्रतिशतले मूल्य उकालो लागेको छ ।

उता हिमालयन लघुवित्तको सेयरमूल्य आज सर्वाधिक १० प्रतिशतले घटेर ५६७ रुपैयाँमा कारोबार बन्द भएको छ ।बाराही हाइड्रोपावरको ७.९८ प्रतिशत, युनाइटेड इदिमार्दी आरबि हाइड्रोपावरको ६.७६ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड–२ को ५.७३ प्रतिशत र सबैको लघुवित्तको सेयर लगानीकर्ताले आजको बजारबाट ५.५६ प्रतिशतका दरले गुमाएका छन् ।

गत आर्थिक वर्षको नाफाबाट १ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत मात्र लाभांश वितरण गरेपछि ग्लोबल आइएमईको घटेर १ लाख ५८ हजार ७० कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याको आधारमा सोनापुर मिनरल्स सिमेन्टको सबैभन्दा धेरै ७ हजार ४४१ वटा कारोबार भएको छ । कम्पनीको १ लाख १९ हजार २४८ कित्ता सेयर २ करोड ८१ लाख ९८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

आइतबारको गिरावटपछि कुल बजार पुँजीकरण ३३ अर्ब ७ करोड रुपैयाँले घटेर २८ खर्ब १३ अर्ब १९ करोड २७ लाख रुपैयाँमा समेटिएको छ । बिहीबारको बजार पुँजीकरण २८ खर्ब ४६ अर्ब २६ करोड ११ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।