पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते गएको भूकम्पमा परेर सोमबार बिहानसम्ममा १५७ जनाले ज्यान गुमाउनुपरेको तथा २५६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै ३ हजार ८९१ घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।
गृह मन्त्रालय अन्तरगतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार जाजरकोट जिल्लाका १०५ जना र रुकुम पश्चिमका ५२ जनाको भूकम्पका कारण ज्यान गएको हो । भुकम्पबाट एघार जिल्ला प्रभावित भएकोमा बाँकी ९ जिल्लामा भने मानवीय क्षति भएको छैन । शुक्रवार राति गएको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान जिल्ला प्रभावित भएका थिए ।
यस्तै घम्भिर घाइते हुनेहरुको सङ्ख्या २५६ जना पुगेको छ । जसमध्ये जाजरकोटमा मात्रै ११२ जना घाइते भएका छन् भने रुकुम पश्चिम जिल्लामा १३२ जना घाइते भएका छन् । यस्तै दैलेख, बैतडी र जुम्लामा ३–३ जना, सल्यानमा २ तथा रोल्पामा एक जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार भौतिक क्षतिको विवरण संकलन भईरहेको छ भने राहत तथा उद्धारका लागि सुरक्षा निकायको टोली परिचालन भएको छ । जिल्लाहरुबाट विस्तृत विवरण आउने क्रम जारी रहेको बताइएको छ । उद्धार कार्यमा ७४० जना नेपाल प्रहरी, २६३ जना नेपाली सेना र ३३४ जना सशस्त्र प्रहरी खटाइएको छ भने हेलिकोप्टर समेत परिचालन गरिएको छ ।

बिहीबार साढे ११ बजेसम्मको तथ्याङ्क अनुसार भुकम्पनबाट ९३७ घरमा पूर्ण रुपमा क्षति भएको छ भने २ हजार ९५४ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । जाजरकोटमा मात्रै ९०५ घरमा पूर्ण तथा २६८५ घरमा आंशिक रुपमा क्षति पुगेको छ । रुकुम पश्चिममा ५ घरमा पूर्ण तथा ११८ घरमा आंशकि रुमा क्षति भएको छ । यसैगरी सल्यानमा २५ तथा सल्यान र बैतडीमा एक–एक घर पूर्ण रुपमा ध्वस्त बनेका छन् । अन्य जिल्लाहरुमा आंशिक घर क्षति हुनेमा सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा एक–एक घरमा क्षति पुगेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
