अर्नाले क्रिकेटरलाई बाँड्यो करिब ४२ लाख, सबैभन्दा बढी भुर्तेलले पाए


अर्ना वियरले टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो सोमबार आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।

वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ ।

टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नगद पुरस्कार दिइएको छैन । उनलाई समारोहमा टोकन अफ लभ प्रदान गरियो । अर्नाले प्रशिक्षक देसाईलाई छुट्टै कार्यक्रम राखेर विशेष सम्मान गरिने जनाएको छ ।

अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने भनिएको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाई २५ हजार दिने घोषणा गरियो ।

तर, पुरस्कारको यो ढाँचा वैज्ञानिक नभएको र सबै खेलाडीलाई न्याय नहुने भनेर विवाद बढेपछि अर्नाले सेमिफाइनल र फाइनलमा व्यक्तिगत विधाको पुरस्कार हटायो । त्यसपछि सिंगै टीमलाई पुरस्कार दिने नयाँ घोषणा गरियो । जसअनुसार टिमले प्रत्येक डट बलका लागि २ हजार रुपैयाँ, विकेटका लागि ३० हजार रूपैयाँ मेडन ओभरका लागि २० हजार पाएको छ । यस्तै प्रत्येक रनका लागि १५ सय, चौकाका लागि १५ हजार र छक्काका लागि २५ हजारको दरले हिसाब गरेर १८ लाख ७७ हजार रकम टीमलाई उपलब्ध गराइएको हो ।

व्यक्तिगत विधामा सबैभन्दा बढी रकम कुशल भुर्तेलले प्राप्त गरेका छन् । प्रतियोगितामै सर्वाधिक रन बनाएका भुर्तेलले अर्नाबाट ५ लाख ३ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सर्वाधिक रकम कुशल मल्लको भागमा पर्यो । उनले २ लाख ९० हजार रूपैयाँ प्राप्त गरे । यस्तै, आसिफ शेखले २ लाख ३९ हजार, अविनाश बोहराले २ लाख २४ हजार र करण केसीले २ लाख २ हजार ५०० पाएका छन् ।

अन्य खेलाडीहरूमा सन्दीप लामिछानेले एक लाख ८२ हजार, रोहित पौडेलले एक लाख ६३ हजार, गुल्शन झाले एक लाख ४१ हजार ५ सय, विवेक यादवले १ लाख ४१ हजार, सोमपाल कामीले एक लाख ४३ हजार र सन्दीप जोराले ७० हजार रूपैयाँ पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।