अख्यितयारद्धारा १० जना उपर मुद्धा दायर, पौने १७ लाखदेखि साढे ५ करोडसम्म भ्रष्टाचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

उनीहरुले जग्गा किनबेचको क्रममा एकै रजिष्ट्रेशन नम्बर राखी लिखतहरु पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको अख्तियारको ठहर छ ।

आयोगले आ.व. २०७१।७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ग” का कर्मचारीहरुको मिलेमतोमा जग्गा किनवेचका क्रममा बिभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगका अनुसार मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैँया राजस्व रकम चुहावट गरेको भन्दै उक्त रकमको दोब्बर जरिवाना माग दाबी गरेको छ ।

त्यस्तै मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत भुप बहादुर बोगटीले १ करोड ४९ लाख ६९ हजार १४५रुपैँया, तत्कालीन मालपोत अधिकृत गोपाल बहादुर ढुंगानाले ३५ लाख ४५ हजार ९५० रुपैँया, तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्यालले १६ लाख ८१ हजार ६ सय रुपैँया राजस्व हिनामिना गरेको जनाएको छ ।

यसैगरी तत्कालीन मालपोत अधिकृत चन्द्र बहादुर भण्डारीले २ लाख ४४ हजार ४६२ रुपैँया तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारीले १ करोड ४१ लाख ६७ हजार १७१ रुपैँया तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैँया हिनामिना गरेको ठहर छ ।

आयोगले उनीहरु विरुद्ध राजस्व हिनामिना भएको रकम र त्यसको दोब्बर जरिवाना माग दाबीलिई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

जसमध्ये उपाध्यायको मृत्यु भइसकेकोले निजको अंश खाने अंशियार छोराहरु राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्याय देखिएको भन्दै उपाध्यायले जिवित अवस्थामा कसुर गरी नेपाल सरकारलाई हानिनोक्सानी गरेको बिगो दामासाहिले असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।