टी-२० क्रिकेट विश्वकपमा छनोट भएको टोलीलाई खेलकुद परिषद्ले जनही १३ लाख दिने


टी-२० विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई खेलकुद परिषद्ले जनही १३ लाख दिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने टी-२० विश्वकपक्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ । गत आइतबार सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो ।

यसअघि सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले नेपाली टिमलाई ५० लाख रूपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।