झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।
कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताए ।
कैदीबन्दीले दैनिक सिदाबापत ८० रुपैयाँ पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल १ हजार ५६० जना कैदीबन्दी रहेका छन् । यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ ५ लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताए ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रविन्दु पारी गएको शक्तिशाली भूकम्पमा परी हजारौँ मानिसहरु विस्थापित भएका छन् भने १५० भन्दा धेरै मानिसहरुले ज्यान गुमाएका छन् । हाल देशभरबाट प्रभावित भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा विभिन्न संघसंस्था तथा मानिसहरुले सहयोग गरिरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
