अमेरिकी केन्द्रीय बैंक– फेडरल रिजर्भ (फेड)ले आक्रामक शैलीमा बढाउँदै गएको ब्याजदर सन् २०२४ मा घटाउने संकेत गरेसँगै लगानीकर्ताको आकर्षण सुनतर्फ गएको छ । जसकारण सुनको मूल्य रेकर्ड मूल्य नजिक पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपालमा पनि सुनको मूल्य शुक्रबार एकैदिन २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर शाक्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य विगत दुई साताकै उच्च बिन्दुमा पुगेको छ भने चाँदीको मुल्य ६ साता यताकै महँगो भएको छ । अमेरिकी रिजर्भ बैंक फेडले यस पटकको स्प्रिङ सिजनमा ब्याजदर कतौती गर्न सक्ने आँकलन गर्दै लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन थालेकोले मुल्य वृद्धिमा चाप परेको विश्लेषकहरुको अनुमान छ ।
नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९७ हजार ४ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार सामान्य घटेर ९७ हजार ५० मा झरेकोमा तिहार बिदाका कारण मंगलबार देखि बिहिबार सम्म सुनको भाउ प्रकाशित भएन । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने मुल्य बढेर सुनको मूल्य प्रति १० ग्राम ९९ हजार २५ रुपैयाँ अर्थात् प्रति तोला १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन १ हजार १ सय ८३ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ४३ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
