कर उठाउन चितवनमा सचेतना कार्यक्रम


आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव संकलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो ।

मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तर्क्रिया गरिने भट्टराईले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र तीनका वस्तुगत संस्थासँग गरिनेछ ।

मङ्सिर ७ गते उद्योग र वाणिज्य तर्फका दुई उत्कृष्ट करदातालाई सम्मान गरिनेछ । यो सँगै आर्थिक ऐन २०८० ले दिएको कर सुविधाका विषयमा करदातालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

भट्टराईका अनुसार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले कार्यालयलाई सात अर्ब ४० करोड नौ लाख ८६ हजार रुपैयाँ लक्ष्य दिएकोमा पाँच अर्ब २२ करोड नौ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको उनले बताए ।

राजस्व संकलनमा कमी आउनुको मुख्य कारण अनुत्पादक क्षेत्रमा लगानी हुनु रहेको भट्टराईले बताए । उनले भने, ‘आर्थिक मन्दीका कारण राजस्व संकलनमा कमी आयो । नेपालको लगानी अनुत्पादक क्षेत्र शेयर बजार र जग्गामा गएर अड्कियो ।’ यस कार्यालयमा ६३ हजार करदाता रहेका छन् । -रासस 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।