लाभांश सुरक्षित गर्ने होडले युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार कम्पनीको मूल्यले नेप्सेमा सूचीकृत भएका कम्पनीहरू मध्येकै सबैभन्दा धेरै मूल्य कायम गर्दै यसअघिको आफ्नो रेकर्ड तोडेको हो ।

गत विहीबार प्रतिकित्ता ४० हजार २०० रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य आइतबार प्रतिकित्ता ४ हजार रुपैयाँले बढेर ४४ हजार २०० रुपैयाँसम्म पुगेको थियो । जुन नेप्सेमा सूचीकृत भएका कुनै पनि कम्पनीको अहिलेसम्मको उच्च मूल्य हो ।

उत्पादनमूलक क्षेत्रको कम्पनीको उत्कृष्ट वित्तीय विवरण र आकर्षक लाभांश बाँड्दै गएको कम्पनीको सेयर मूल्य पछिल्लो समय लगातार बढेर नयाँ रेकर्ड बनाएको हो। युनिलिभर सेयर मूल्यको हिसाबले नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी हो

युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। कम्पनीले लाभांश पारित गर्न मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको छ ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको नेप्सेमा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।