घरको डाक्टर स्किल सेवाले निःशुल्क प्राविधिक परामर्श दिने

घरको डाक्टर स्किल सेवाले निःशुल्क प्राविधिक परामर्श दिने

घरसँग सम्बन्धित विभिन्न जग खन्नेदेखि घर निर्माण र समस्या समाधान सेवाहरू दिँदै आएको स्किल सेवाले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्ने भएको छ ।

विगत ५ वर्षदेखि घर र घरकै समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै आइरहेको कम्पनीले आफ्ना ३ शाखाहरू समेतबाट ४० हजार भन्दाबढी समस्या भएको घरहरूमा आफ्ना सेवा प्रदान गरिसकेको छ । यसपछि समस्या रहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनु पूर्व के-कस्ता कुरामा ध्यान दिने, आवश्यक कागजात र प्रक्रियाहरू समेतको विस्तृत जानकारी दिने गरी कम्पनीको सामाजिक उत्तरदायित्व स्वरूप निःशुल्क परामर्श कार्यक्रमको आयोजन गरिन लागिएको स्किल सेवाले जनाएको हो ।

हरेक हप्ताको शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म कम्पनीको मूख्य कार्यालयमा निःशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका सीईओ रमेश तिमिल्सिनाले बताए ।  देशका प्रमुख शहरहरू पोखरा, चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले कार्यक्रम मार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्या रहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जानकारी दिएको हो ।

घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, निर्माणका क्रममा हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रुटीका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने र निर्माण पश्चात सहजै बिक्री समेत नहुने गरेको उनको भनाई छ। यसको लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए ।

जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए । जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले यसबारे उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले बताए । उनले घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेकाहरुले यस कार्यक्रमबाट फाइदा लिन सक्ने पनि जानकारी दिए ।

सीईओ तिमिल्सिनाले भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौं। साथसाथै प्रक्रियागत त्रुटीसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ । यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ । कार्यक्रमबाट लाभ लिन चाहने घरधनीहरूले हरेक हप्ताको बिहीबार अगावै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार १३ : ३७ बजे