धितोपत्र बजार सूचक नेप्से सातौं कारोबार दिनसम्म लगातार घटेको छ । मंगलबार मङ्सिर ११ गते सोमबारदेखि ओरालो लागेको बजार सूचकले १८ गते मंगलबारसम्म निरन्तरता पाएको हो । बजारमा गिरावटको क्रम नरोकिँदा लगानीकर्ताले सेयर बजारमा सस्तोमा नै सेयर बिक्री गर्न थालेका छन् । यसले दैनिक कारोबार रकममा भने केही वृद्धि हुँदै आएको छ ।
मंगलबार पनि नेप्से दोहोरो अंक अर्थात १०.१० बिन्दुले ओरालो लागेको छ । सात दिनमा नेप्से ७०.२० अंकले घटेको छ । मङ्सिर १० गते आइतबार नेप्से १९०७.९५ बिन्दुमा थियो । घट्दो बजारमा दैनिक कारोबार भने बढ्दै गएको छ । आइतबार ९६ करोडसम्म खुम्चिएको दैनिक कारोबार मंगलबार आइपुग्दा साढे १ अर्ब नाघेको छ ।
मंगलबार नेप्से १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा झरेको छ । दिनभरमा २९३ स्क्रिप्टका ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर ३८ हजार ५८४ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिजो सोमबार २९२ स्क्रिप्टका ३८ लाख ९५६ हजार २८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा ३४ करोड ७७ लाख रुपैयाँले कारोबार बढेको हो ।

कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये जीवन बीमा बाहेक सबै घटेका छन् । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.५७ प्रतिशतले घटेको बजारमा होटल तथा पर्यटनमुलक १.७१ र ब्यापार इन्डेक्स १.११ प्रतिशतले ओरालो लागेको छ । बाँकी सबै एक प्रतिशतभन्दा कमले घटेका छन् ।
मंगलबारको बजारमा माउन्टेन इनर्जी लिमिटेडको ३६ करोड २९ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सिटिजन लाइफको ८ करोड १८ लाख, एनआरएन इन्फ्रास्टक्चरको ५ करोड ७८ लाख, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ५ करोड ४१ लाख र ररिलायबल नेपाल लाइफको ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सिंगटी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर २७५ रुपैयाँ पुगेको छ । यसैगरी सिभिल डिबेन्चर २०८८ को ७.३६ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को ४.२९ प्रतिशत,महुली लघुवित्त वित्तीय संस्थाको ३.९२ प्रतिशत र सेञ्चुरी डिबेच्र २०८८ को मूल्य ३.६२ प्रतिशतले उकालो लागेको छ ।
मंगलबार बिशाल बजार कम्पनी लिमिटेडको सेयर सर्वाधिक ९.५३ प्रतिशतले घटेर ३४१० रुपैयाँ ६० पैसामा झरेको छ । माउन्टेन इनर्जीको ८.९४ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ८.८१ प्रतिशत, संस्थापक सेयर साधारण सरह कारोबार हुने भएपछि एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य पनि ८.१८ प्रतिशत र१०.२५% प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८३/८४ को मूल्य ६.१५ प्रतिशतले घटेको छ ।
मंगलबारको गिरावटपछि समग्र बजार पुँजीकरण २८ खर्ब ३३ अर्ब ५६ करोड १० लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बजार पुँजीकरण १५ अर्ब ४६ करोड १६ लाख रुपैयाँले घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
