अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले दुधको करिब ६ अर्ब रुपैयाँ बराबर रकमको भुक्तानी गर्न माग गरेको छ । दुधको रकम विगत ६ महिनादेखि रोकिएको विषयले महासंघ (क्रान्तिकारी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघले दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी क्षेत्रका दुध कम्पनीहरूबाट किसानहरूको अर्बाैं रुपैयाँ भुक्तानी नगर्ने लज्जास्पद कार्यको घोर निन्दा तथा भत्र्सना गर्दै किसानहरूले प्राप्त गर्नुपर्ने रकम अबिलम्ब भुक्तानी गर्न माग गरेको हो । किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको डिडिसीको रहेको छ ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानहरूले कष्टसाध्य जीवन निर्वाह गर्दै उत्पादन र बिक्री गरेको दुधको मूल्य ६ महीनासम्म नपाउनु दुखःद रहेको बताए । विगत केही समयदेखि डिडिसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा विदेशी धुलो दुध ल्याउने, सीमा क्षेत्रमा विदेशी कम गुणस्तरको र नक्कली दुध भित्राई बिक्री वितरण गर्ने वातावरण बनाई नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने र स्वदेशी दुधलाई निरुत्साहित गर्दै दुध विदा (मिल्क होलिडे) गर्ने कार्य भइरहेको उनले बताए । यसले महासंघलाई गम्भीर र आक्रोशित बनाएको उनको भनाई छ ।
यस्तै महासंघले संस्थानलाई डुबाएर बेहाल बनाउने दुग्ध विकास संस्थान (डिडिसी) का असक्षम तथा किसानमारा पदाधिकारी र संलग्न कर्मचारी तथा किसानका नाममा सरकारी तलब, भत्ता र सेवा–सुविधा उपभोग गर्ने तर देशको दुग्ध क्षेत्र र दुग्ध उत्पादक किसानहरूको यस्तो बिजोग हुँदा समेत किसानहरूको पक्षमा सरकारीस्तरमा कुनै पहल नगर्ने राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय किसान आयोगजस्ता सरकारी निकायका पदाधिकारीहरूलाई यथाशक्य छिटो बर्खास्त गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
तीस लाख किसान परिवारहरू सहभागी रहेको दुग्ध उत्पादक तथा पशुपालक किसानहरूले राष्ट्रिय अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान गर्ने गरेका छन् । दुग्ध क्षेत्र ‘सहरका पैसा गाउँ पु¥याउने’, ग्रामीण क्षेत्रमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र ग्रामीण जनसमुदायको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने उत्पादनको एक सशक्त क्षेत्र समेत हो ।
किसानहरूको बक्यौता रकम भुक्तानी दिलाउन, दुग्ध किसानहरूको हित हुने गरी अनुदान, सहुलियत ब्याजदरको कृषि ऋण र अन्य सरकारी सेवा–सुविधा प्रदान गरी स्वदेशी दुधको उत्पादन तथा खपत बृद्धि गर्न र दुग्ध उत्पादक किसानहरूलाई संरक्षण गर्न महासंघले माग गरेको छ ।किसानहरूको दुधको रकम नतिर्ने, न्यूनतम् मूल्य भन्दा कम मूल्यमा दुध किन्न खोज्ने, कम गुणस्तरको हानीकारक धुलो दुध आयात र तस्करी गर्ने कार्यमा संलग्न हुने र अटेरी गर्ने दुध कम्पनीका संचालकहरूलाई कालो सूचीमा राखी कडा कारबाही गर्नुपर्ने महासंघको भनाई छ । देशमा भइरहेको धुलो दुधको निर्वाध आयात तथा सीमा क्षेत्रमा भइरहेको कम गुणस्तरको र नक्कली दुधको आयात र तस्करी रोक्नुपर्न महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
