नेपाल चामल तेल दाल उद्योग संघले भन्सार छुट सुविधामा १० लाख मेट्रिक टन धान उपलब्ध गराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष कुमुद कुमार दुगडको नेतृत्वमा मङ्सिर २६ गते गएको संघको डेलिगेशनले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि माननीय रमेश रिजाल, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव रामचन्द्र तिवारीलाई उनीहरुकै कार्यकक्षमा छुट्टाछुट्टै भेटगरी स्वदेशी चामल मिलहरुको हालको अवस्था र धानको पर्याप्तता सम्बन्धमा जानकारी गराएको हो ।
सरकारले २०८० साउन १९ गते परराष्ट्र मन्त्रालय मार्फत भारतिय राजदुताबासमा पत्र पठाई १० लाख मेट्रिक टन धान उपलब्ध गराउन नेपाल भारत सरकारलाई अनुरोध गरेपनि अहिलेसम्म धान आयात हुन नसक्दा भोलिको दिनमा नेपालमा चामलको मूल्य बढ्न गई उपभोक्तालाई पर्न जाने प्रत्यक्ष असर पर्ने सम्बन्धमा संघले अवगत गराएको हो ।

नेपालमा मसिनो धानको उत्पादन कम हुने भएकोले वर्षभरिको लागि कम्तिमा पनि लगभग १० लाख मेट्रिक टन मसिनो धान अपुग हुने भएकाले उच्चस्तरिय कुटनैतिक पहलबाट १० लाख मेट्रिक टन धान भन्सार छुट सुविधामा आयात गर्ने ब्यवस्था गर्न अनुरोध गरिएको संघका महासचिव दिपक कुमार पौडेलले बताए । हालको मौज्दात र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र चामल उपलब्ध गराउनसक्ने अवस्था रहेकाले सयमा नै समस्या समाधानमा पहल गर्न संघले अनुरोध गरेको हो ।
भारत सरकारले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ भने नेपाल भन्सारमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ । धान आयातमा २५ प्रतिशत भन्सार महसुल लाग्ने भएकोले भारतबाट सहुलिएत दरमा धान ल्याउन नसकिए चामलको मूल्य आकासिने चेतावनी संघले दिएको हो ।
गत वर्षको तुलनामा सिजनमा धानको मूल्य प्रति के.जि. १० रुपैयाँले बढिसकेको र भारतबाट २० प्रतिशत भन्सार महसुल तिरेर धान खरिद गर्दा प्रति के.जी. ५० रुपैयाँ पर्न जाने संघले जनाएको छ । भन्सार छुट सुविधामा धान आयात गर्दा प्रति के.जी ८ रुपैयाँ सस्तो पर्ने हुँदा चामलको मूल्यमा १६ रुपैयाँको फरक पर्न जाने संघको भनाई छ ।
चामल उद्योगले धान प्रशोधन गरी चामल उत्पादनसँगै सह–उत्पादनहरु भुस, उद्योगको इन्धनको रुपमा प्रयोग हुने (बोईलर प्लान्ट), कनिका, पशुपन्छिका दाना, दाना उद्योग, डिस्ट्रिीलरी र स्न्याक्सहरुको कच्चा पदार्थ यी सबै चामल उद्योगकै उत्पादनमा भर पर्ने हुँदा सबैलाई प्रत्यक्ष मर्का पर्ने हुँदा यसबाट देशको अर्थतन्त्र, रोजगारी र देशको राजश्वमा समेत प्रत्यक्ष असर पर्ने संघले बताएको हो ।
भन्सार छली नेपाल भित्रिएको धान र चामलसँग नेपाली उत्पादनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने हुँदा चामल मिलमा लागेको अर्बौको स्वदेशी लगानी जोखिममा पर्ने संघको ठहर छ । संघले दैनिक जीवनमा अत्यावश्यक खाद्य वस्तु चामलको नेपाली उत्पादन बन्द हुने र आम उपभोक्ता समेत ठूलो मारमा पर्ने भएकोले स्वदेशी चामल उद्योग संरक्षण गर्न संघले सरकारलाई आग्रह गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
