वार्षिक ९ अर्बको व्यापार गर्ने जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने

0
Shares

जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २६ गते वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको कर्पोरेट अफिस टेकु, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो । कम्पनीको २५ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको थियो।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ ।

साधारणसभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नगद प्रवाहको विवरण सहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित पनि गर्नेछ । त्यस्तै अधिकृत पुँजी बढाउने निर्णय पनि गर्नेछ ।

उद्योगले सन् २०२० मा टिएमटी छडका लागि आवश्यक पर्ने बिलेटको प्लान्ट जडान गरेको छ । प्लान्ट जडान गर्नु अघि उद्योगले बिलेटहरुको आयात गर्दै आएको थियो। बिलेटको उत्पादन उद्योग भित्र सुरु भएपछि कम्पनीले बिलेटको आयातमा खर्चने रकम अरु प्रयोजनमा प्रयोग गर्दै आएको छ ।

अम्बे स्टील्स लिमिटडले सन् २०२२ मा ८ अर्ब ८२ लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो । उद्योगले कुल आम्दानीको ९६ प्रतिशत आम्दानी टिएमटी छडको व्यापारबाट मात्रै गरेको छ । उद्योगले टिएमटी छड, वान्डिङ वायर र जीआइ वायरहरुको बिक्री वितरण गर्दै आएको छ ।

उद्योगमा अम्बे ग्रुपका न्यौपाने, अग्रवाल र पौडेल परिवारको सेयर रहेको छ । कम्पनीको अध्यक्ष शोभाकर न्यौपाने रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।