प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत, पुँजी बढाउन हकप्रद निष्काशन गर्ने


मर्जर प्रकृया पुरा गरेर एकीकृत कारोबार सुरु भएको लामो समय पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सूचीकरण भएको छ । योसँगै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ । सेयर सूचीकरण भएसँगै कम्पनीले बीमा प्राधिकरणले ताेकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

सोमबार नेप्सेमा साविकको नेप्सेमा सूचीकृत भएको प्रभु लाइफ र सर्वसाधारणमा सेयर निष्काशन नगरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ बराबर १ को अनुपातमा चुक्ता पुँजी कायम गरी सोही अनुसार सेयर सूचीकरण भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उसका अनुसार दोस्रो बजारमा कम्पनीको सेयर पीएमएलआई (PMLI) संकेतमा खुल्नेछ । गत असार २८ गते प्रभु लाइफ इन्स्योरेन्सको प्रतिकित्ता सेयर ५८७ रुपैयाँमा अन्तिम पटक किनबेच भएको थियो ।

१ बराबर १ को अनुपातमा मर्जर पूरा भएसँगै प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ । अब कम्पनीले ७० करोड ४० लाख रुपैयाँले पुँजी विस्तार गर्नुपर्ने हुन्छ । उक्त पुँजी जुटाउनका लागि कम्पनीले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । जस अनुसार अब कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । सो पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

साविकको प्रभु लाइफले सर्वसाधारणमा ३० प्रतिशत सेयर निष्काशन गरेको थियो भने महालक्ष्मीले सेयर निष्काशन गरेको थिएन । महालक्ष्मीसँगको मर्जर पछि नयाँ कम्पनीमा सर्वसाधारणको ६६ करोड कित्ता हाराहारी मात्र सेयर रहेको छ । यो चुक्ता पुँजीको झण्डै १५ प्रतिशत हाराहारी हुन आउँछ ।

यसअघि कम्पनीले थप नयाँ सेयर निष्काशन (एफपीओ) बाट सर्वसाधारणको हिस्सा बढाउने भने पनि अन्तिममा हकप्रदको बाटो राजेको हो । कम्पनीले संस्थापकको झण्डै ८५ प्रतिशत हिस्सालाई घटाउन फेरि थप नयाँ सेयर निष्काशन गर्ने देखिन्छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।