मोरङ्गको बुढिगंगा गाँउपालिकामा साढे २ अर्ब लगानीमा २०० शैयाको अस्पताल निर्माण हुने

मोरङ्गको बुढिगंगा गाँउपालिकामा साढे २ अर्ब लगानीमा २०० शैयाको अस्पताल निर्माण हुने

मोरङ्ग जिल्लाको बुढिगंगा गाँउपालिका वडा नम्बर १ मा २०० शैया क्षमताको आरआर इन्टरनेशनल अस्पताल निर्माण हुने भएको छ । नेपालबाट हरेक वर्ष हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तरबीचको खाडल कम गर्न उक्त अस्पताल निर्माण हुने भएको हो ।

करिब २ अर्ब ५० करोड लागत अनुमानमा उक्त अस्पताल निर्माण गरिन लागिएको हो । उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको शिवम् अर्गनाईजेशनले स्वास्थ्य सेवाको क्षेत्रमा योगदान गर्ने उदेश्य सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउतको लगानीमा हाल एक सय शैयाको मल्टि स्पेसियालिटी हस्पिटल सञ्चालन गर्ने र क्रमश: ३०० शैयासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।

अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र बनाउन लागिएको छ । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा कार्डियो इर्मजेन्सी सेवा र क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने छ । यसको अलवा अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ ।

सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले डायग्नोस्टिक डिपार्टमेन्टलाई अन्तराष्ट्रियस्तरको बनाइने लक्ष्य अस्पतालको छ । सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माण हुन गइरहेको अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

निर्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत हुन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत हुन् ।

अलग किसिमको पारिवारीक पृष्ठभूमि र उद्योग व्यवसायको विरासत विना नै यस क्षेत्रमा प्रवेश गरेका अध्यक्षले गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका थिए । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यवसायी राउतका विभिन्न उत्पादन मुलक उद्योग तथा व्यवसाय सञ्चालित छन् । जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ्ग कारोबार सञ्चालनमा रहेका छन् भने निकट भविष्यमै काठमाण्डौंमा अत्याधुनिक पाँचतारे होटल केहि महिनाभित्रै सञ्चालनमा आउने छ ।

यसैगरी विराटनगरमा हाउजिङ्ग कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल/पारामेडिकल/नर्सिङ्ग कलेजको समेत स्थापना गर्दै लगिने योजना रहेको छ । यो अस्पताललाई एउटा व्यवसायिक घरानाको मात्र नभएर कोशी प्रदेश कै सम्पत्ति र सबै सेवाग्राहीको विश्वासको केन्द्रका रुपमा स्थापित गराउने उद्धेश्य राखिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार १९ : २३ बजे