नेपाल बैंकका नवनियुक्त सीईओ पाण्डेयले लिए सपथ

0
Shares

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले सपथ लिएका छन् ।

सञ्चालक समितिको निर्णयानुसार बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० पुस ८ गतेदेखि लागू हुने गरी नियुक्ति पाएका पाण्डेयले आइतबार नै सञ्चालक समितिका अध्यक्षबाट प्रमुख कार्यकारी अधिकृत पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।

यससँगै उनले पुस ८ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । सीईओ पाण्डेयले नेपाल बैंकमा खराब कर्जा बढी रहेको, रिकभरीको समस्या र लगानीको सुस्तता भएकोले यी समस्या समाधानका लागि आफूले काम गर्ने बताए । ग्राहकहरुको मनोबल उठ्न नसकेका समस्या पहिचान गरी समाधान गर्ने पनि उनले बताएका छन् । नवनियुक्त सीईओ पाण्डे तत्कालीन भिवोर विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।

बैंकको पुस ६ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । सर्ट लिस्टमा परेका पाँच जनाबाट पाण्डेयलाई छानेर सीईओ नियुक्त गरिएको हो । सीईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले पाण्डेयलाई सीईओ बनाउने निर्णय गरेको हो ।

भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भएपछि उनी बाहिरिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् । अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।