सुपर मादी हाइड्रोपावरका लगानीकर्तालाई पहिलो वर्षमै लाभांश

0
Shares

सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्तालाई पहिलो वर्षमै लाभांश पाएका छन् ।  गत माघ ९ देखि १२ गतेसम्म सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता आईपीओ निकालेको यस कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट नगद लाभांश दिएको हो ।

सुपर मादीको पुस ६ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको कर बाहेक २ प्रतिशतका दरले ४ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस्तै कम्पनीले कर प्रयोजनका लागि २२ लाख १० हजार ५२६ रुपैयाँ छुट्टाएको छ ।

बैठकले लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औं र १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले लाभांश प्रस्तावका साथै कर्जाको अनुमोदन तथा अख्तियारी दिने, अन्य आयोजनामा लगानी गर्ने, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना तथा स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।