अल्पकालिन लगानीकर्ता हाबी हुँदा सेयर बजारमा लगातार तेस्रो दिन करेक्सन

0
Shares

सेयर बजारमा द्धिर्घकालिन रुपमा लगानी गर्ने भन्दा अल्पकालिन कारोबार गर्नेहरु हाबी हुँदा लगातार तेस्रो दिन करेक्सन आएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत केहि लचकता अपनाउँदा सेयर बजारमा निरन्तर सुधार आएको थियो । यसबिचमा झण्डै २०० अंकले बढेको बजारमा पछिल्लो तीन कारोबार दिनमा भने करेक्सन आएको छ । पछिल्लो तीन कारोबार दिनमा नेप्से ७१ अंकले घटेको छ ।

बजारमा छोटो समयका लागि लगानी गर्ने सेयर कारोबारीहरु नाफा सुरक्षित गर्नतर्फ लागेपछि बजार करेक्सनको बाटोमा गएको हो । यद्यपी दैनिक कारोबार ५ अर्ब बढी हुनुले बजारमा सुधार आउने संकेत भने देखाएको छ ।

बुधबारको बजारमा नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २,०७० को विन्दुमा झरेको छ । यसििदन ८३ कम्पनीको सेयरमूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच भएको बजारमा ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भयो । गत आइतबार ७ अर्ब बढीको सेयर किनबेच भएको थियो । सोमबार र मंगलबार सार्वजनिक विदा परेकाले बजार बन्द रह्यो ।

पछिल्लो समयमा नेप्सेमा सूचीकृत भएका नयाँ कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । थोरै कारोबारबाट पनि यी कम्पनीहरुको सेयर मूल्य दैनिक उच्चदरले बढेको छ । केहि समय अघि सूचीकृत भएर एउटा उचाई लिइसकेका नयाँ कम्पनीहरुको सेयरमूल्य भने घट्न थालेको छ ।

नेप्से घटेपनि यस दिन साता कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन बिपिडब्लु लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यसदिन १३ मध्ये २ वटा समूहका सूचकमात्र वृद्धि भएका छन् । निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको मात्र परिसूचक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो । त्यस्तै, शिवम सिमेन्टस, सूर्यज्योति लाइफ, हाथवे इन्भेष्टमेन्ट, नेपाल रिपब्लिका, घोराही सिमेन्टस, आइएमई लाइफ, माउन्टेन इनर्जी र हिमालयन डिष्टलरीको उच्च कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।