सिंगटी हाइड्रोको साढे एक अर्बको हकप्रद सेयर स्वीकृत

0
Shares

सिंगटी हाइड्रो इनर्जीको साढे एक अर्बको हकप्रद सेयर स्वीकृत भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीलाई एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न पुस ११ गते बुधबार अनुमति दिएको हो ।

यससँगै अब सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले बुकक्लोज मिति तोकेको विद्यमान सेयरधनीका लागि एक बराबर एक कित्ता अनुपातमा हकप्रदको निष्कासन खुला गर्नेछ ।

कम्पनीले हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा २०८० असार २७ गते निवेदन दिएको थियो । अनुमति मागको साढे पाँच महीनापछि कम्पनीले हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।

सिंगटी हाइड्रो इनर्जीले कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा २५ मेगावाट क्षमताको आयोजनाको निर्माण सम्पन्न गरेको छ । कम्पनीले आफ्नै पहलमा प्रशारण लाइन निर्माण गरेर दोलखामा निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित बिजुली लामोसाँघुस्थित प्रशारण लाइनमा २०७८ साउनदेखि जोडेको थियो। प्रसारण लाइनको समस्याले डेढ वर्षअघि नै निर्माण सम्पन्न भएको आयोजनाले विद्युत उत्पादन गर्न सकेको थिएन ।

आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन १२ वर्षमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमा नै निमार्ण हुन नसक्दा आयोजनाले विद्युत बिक्रीबाट हुने करिब १ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको कम्पनीको दाबी छ । विद्युत प्रणालीमा जोडिएपछि आयोजनाले वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्नेछ ।

सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । त्यो वार्षिक ३ प्रतिशतले बढ्दै जानेछ । सिंगटी खोलामा पानीको डिस्चार्ज साह्रै राम्रो छ । ट्रान्समिसन लाइन २ सय मिटरमात्र लामो छ । सिंगटी सुपर सिक्स मध्येको नमुना आयोजना हो । नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागकबाट बिजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । तीमध्ये सिंगटी सबैभन्दा चाँडो बिजुली उत्पादन गरी प्रशारणलाइनमा जोडिने आयोजना हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।