गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटको आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

गभर्नर अधिकारीविरूद्ध परेको रिटको पेशी सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।

बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार हुन लागेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ। कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले दायर गरेको रिटमा गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ ।

गभर्नर अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षता लिएको जिकिर गरेको भएपनि ऐनमा स्नातकोत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने सर्त तोकेकाले समकक्षताको भरमा योग्यता नपुग्ने रिटमा भनिएको छ ।

सरकारले अधिकारीलाई २०७६ साल २४ चैतमा गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा भएको गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।