गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तको सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।नेप्सेका अनुसार गरिमा विकास बैंकको चुक्ता पुँजीको ९.५० प्रतिशत, लुम्बिनी विकास बैंकको ४ प्रतिशत र छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ भाउ तोकिएको हो ।
गरिमा विकास बैंकको चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३७४ रुपैयाँ ४३ पैसा भाउ निर्धारण गरिएको छ । सोमबार कारोबार भएको अन्तिम मूल्य ४१० रुपैयाँलाई आधार मानेर बोनस समायाेजन गरी नयाँ भाउ तोकिएको हो । यस्तै लुम्बिनी विकास बैंकको ४ प्रतिशत सेयर समायोजनपछि प्रतिकित्ता ३८६ रुपैयाँ ५४ पैसा भाउ निर्धारण गरिएको छ । सोमबार कारोबार भएको अन्तिम मूल्य ४०२ रुपैयाँलाई आधार मानेर बोनस समायेजन गरी नयाँ भाउ तोकिएको हो ।
साथै सोमबार नै छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ८६५ रुपैयाँ ७१ पैसा भाउ तोकिएको छ । सोमबार कारोबार भएको अन्तिम मूल्य ९०९ रुपैयाँलाई आधार मानेर बोनस समायाेजन गरी नयाँ भाउ निर्धारण गरिएको हो ।
यी तीन सहित सोमबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको थियो । तर रुरु जलविद्युत परियोजना, बिन्ध्यबासिनी हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरले मूल्य समायोजन हुने दरभन्दा कम नगद लाभांश मात्र वितरण गरेकाले सेयर मूल्य समायोजन भएन । नेप्सेले सम्बन्धीत कम्पनीको दोस्रो बजारमा कायम मूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गरेमा मात्र सेयर मूल्य समायोजन गर्ने गरेको छ । रुरु जलविद्युत परियोजनाले चुक्तापुँजीको १०.५३ प्रतिशत, बिन्ध्यबासिनी हाइड्रोपावरले ५.२६ प्रतिशत र सुपरमादी हाइड्रोपावरले कर बाहेक २ प्रतिशत नगद लाभांश वितरण गर्न मंगलबार बुकक्लोज गर्दैछ ।
सोमबार समायोजन भएका तीनवटै कम्पनीको भोलि मंगलबार आज समायोजन भएको भाउलाई आधार मानेर धितोपत्रको कारोबार खुल्नेछ ।
साथै पुस १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले पुस १७ गते मंगलबार बुकक्लोज गर्दैछन् ।
सोमबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
