ठूला आयोजना निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन । नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजना गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्नसके मात्र आर्थिक विकासको ढोका खुल्ने बताए। पूर्वाधार निर्माणका काममा सुस्तता हुँदा मुलुकको समग्र विकास र आर्थिक समृद्धिको काम पनि सुस्ताउने भएकाले समयमै काम सकेर लाभ लिने गरी ठूला आयोजना निर्माण गरिनुपर्नेमा उनले जोड दिए।

“ठूला पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ। विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले समान्य रुपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने, “अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समय सीमाभित्र सम्पन्न हुन नसकेका विकास आयोजनामा लागत बढ्दै जाने र राज्यलाई थप आर्थिक भार पर्न गएको अवस्था अहिले देखिन्छ ।”

दश हजार आठ सय मेगावाट विद्युत् उत्पादन क्षमताको कर्णाली चिसापानी, चार सय केभी क्षमताका प्रशारण निर्माणलाई सरकारले महत्वका साथ अघि बढाइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । विकास निर्माणका काममा अहिले देखिएका विभिन्न खालका कठिनाइलाई चिर्दै अब्बल व्यवस्थापकीय ढङ्गबाट आफ्नो ज्ञान र सीपको सदुपयोग गरेर समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुसी ल्याउन सकिने उनले बताए। इन्जिनियर्सको क्षमता अभिवृद्धि, पेसागत विकास तथा उन्नयनका लागि इन्जिनियर्स स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउने र अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै अगाडि बढिरहेको उल्लेख गरे । नेपाल सङ्क्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको उल्लेख गदै प्रधानमन्त्री दाहालले राजनीतिक दलले नागरिकसँग गरेका प्रतिबद्धता र वाचा पूरा गर्ने चुनौतीपूर्ण अवसर आफूले प्राप्त गरेकोसमेत बताए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका काममा सबै पक्ष र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए। उक्त सम्मेलनबाट एशोसियशनले दिएका सुझावलाई सरकारले ग्रहण गर्ने र उपयुक्त सुझाव कार्यान्वयनका लागि पहल गर्ने उनले विश्वास दिलाए।

“पूर्वाधारबाट देश विकास सम्भव छ । त्यसका लागि हामी सबै उत्प्रेरित भएर, जिम्मेवार भएर काम गरौँ । राष्ट्र निर्माणमा के–कस्ता नीति, योजना र मार्गदर्शन बनाउनुपर्छ त्यसको मार्गदर्शनका लागि सबैपक्षसँग सरकारका तर्फबाट अनुरोध गर्दछु”, उनले भने। रोजगारी, वृत्ति विकास, न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायत विषयमा सरकार गम्भीर रहेको मन्त्री ज्वालाले स्पष्ट पारे। नेपालको जनशक्ति विदेश पलायन हुने समस्या बढ्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री ज्वालाले नेपालभित्रै सम्भावना खोज्न पनि आग्रह गरे। -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।