ऊर्जामन्त्री बस्नेतको उद्घोष, ‘बन्द भएका सटरहरु अब खुल्छन् ’

ऊर्जामन्त्री बस्नेतको उद्घोष, ‘बन्द भएका सटरहरु अब खुल्छन् ’

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरु खुल्ने भएका छन् ।

कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको बताए । “कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दाबाबबाट नेपाल पनि अछुत रहेन । विस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाईसकेको जानकारी समेत दिए ।

शनिबार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए । “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले १२ वर्षमा २९ हजार मेगावट विद्युत उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । प्रधानमन्त्रीले प्रचण्डले आफैँबाट सुशासनको अभियान सुरु गरेको बताउँदै मन्त्री बस्नेतले तथ्यहरुले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरे ।

कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झनझटिलो भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एकवर्षको पुगेका अबसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष नन्दबहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, एभरेष्ट इन्ड्रष्टिज कमर्श भारतका अध्यक्ष युवराज बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत लगायतले अर्थतन्त्र सुधारको बाटोमा जान लागेको धारणा राखेका थिए । उनीहरुले सरकारले लगानीमैत्री वातवरण बनाउनुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष खेम भण्डारीले समाजवादी अर्थतन्त्र निर्माणको लागि आफूहरु लागेको बताउँदै सरकारका पछिल्ला कदमहरुले व्यवसायीहरुमा आशा पलाउन थालेको बताए । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले संगठनको अगाडि सारेका आर्थिक सुधारको एजेण्डबारे चर्चा गरेका थिए भने महासंघ खिमनारायण पराजुलीले सञ्चालन गरेका थिए ।

महासंघको बन्द सत्रले आफ्नो आगामी योजना तय गर्ने बताइएको छ । साधारण सभा आइतबार सम्पन्न हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार १२ : ४४ बजे