साना किसान विकास लघुवित्तको १५ प्रतिशत लाभांश पारित


साना किसान विकास लुघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको आइतबार सम्पन्न २२ औं वार्षिक साधारण सभाले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित बोनस पारित भएसँगै लघुवित्तको कुल चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार ७९८ रुपैयाँ पुगेको छ । यसैगरी साधारण सभाबाट लघुवित्तको नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका छन् । नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त रहेका छन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ ।

देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा लघुवित्तले सेवा प्रवाह गरेको छ ।

साना किसान विकास लघुवित्त र आरएमडीसी एक आपसमा गाभिएर मिति २०८० असार २४ गतेबाट एकीकृत कारोवार थलेसँगै संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको थियो ।

लघुवित्तका अध्यक्ष खेम बहादुर पाठकले साना किसान लुघवित्त मार्फत सञ्चालन भएका कार्यक्रमबाट ग्रामीण अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुगेको बताएका थिए । अध्यक्ष पाठकले संस्था मार्फत प्रवाह हुने सेवालाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने बताएका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।