लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन


आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि १३ अर्ब छ करोड १४ लाख ६० हजार रुपैयाँ लक्ष्य तोकेकामा पुस मसान्तसम्म आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार रुपैयाँ संकलन भएको जनाएको छ ।

गत आवको यही अवधिमा आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजार रुपैयाँ अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको थियो । सो वर्ष छ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार रुपैयाँ लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ एक अर्ब २० करोड ९२ लाख एक हजार रुपैयाँ, अन्तःशुल्कतर्फ छ अर्ब ६५ करोड २६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ ८४ करोड सात लाख नौ हजार रुपैयाँ, ब्याज कर पाँच करोड ७८ लाख ९९ हजार रुपैयाँ, घरबाहल कर एक करोड ९५ लाख ८८ हजार रुपैयाँ र स्वास्थ्य सेवा कर ९३ लाख २५ हजार रुपैयाँ संकलन भएको भट्टराईले जानकारी दिए । उहाँका अनुसार अन्तःशुल्क संकलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व संकलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ ।

आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व संकलनमा कमी देखिएको हो । भट्टराईले भने, ‘अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व संकलनमा कमी आएको अनुमान गरिएको छ ।’ युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व संकलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।