नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका ६ पालिका छनोट भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा, छत्रकोट, मालिका र चन्द्रकोट गाउँपालिका एवं रेसुङ्गा नगरपालिकालाई नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योग लगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सक्नेछन् ।
यो कार्यक्रम पालिका र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन हुनेछ । जसमा गाउँपालिकाका लागि ७५ लाख र नगरपालिकाका लागि १ करोड सङ्घीय सरकारले उपलब्ध गराउनेछ । यसमा गाउँपालिकाले १५ लाख थप गरी ९० लाख र नगरपालिकाले २५ लाख थप गरी १ करोड २५ लाख रुपैयाँको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत गुल्मीका ६ सहित देशभरका १०४ पालिका छनोट भएका छन् ।
