६ महिनाको व्यापार घाटा झण्डै ७ खर्ब, आयात निर्यात दुबै घट्यो

0
Shares

चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिना अर्थात पुस महिनासम्ममा मुलुकको व्यापार घाटा झण्डै ७ खर्ब रुपैयाँ पुगेकोे छ ।

भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.६२ प्रतिशतले कम हो ।

विभागका अनुसार गत वर्षको सोहि अवधिमा नेपालले ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।

विभागका अनुसार ६ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा वैदेशिक व्यापारमा समेत ३.४७ प्रतिशतको गिरावट आएको छ ।

वैदेशिक व्यपारमा गिरावट आउँदा व्यापार घाटा केहि घटेको छ । आर्थिक गतिविधि बढ्न नसक्दा आयात तथा निर्यात दुवै घटेका छन । पुस महिनासम्ममा आयात निर्यात दुबै घटेकाले कुल व्यापार तथा व्यापार घाटामा समेत गिरावट आएको हो । यस अवधिमा आयात ३.०९ प्रतिशतले घटेको छ भने निर्यात ७.२३ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार पुस महिनासम्ममा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ७१ अर्ब १८ करोड ५८ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको यही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा वैदेशिक व्यापार घटेपनि भन्सार बिन्दुबाट हुने राजस्व संकलन भने बढेको छ । ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब १० करोड रुपैयाँ उठेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोड बराबर राजस्व उठाएको थियो ।

राजस्व बढे पनि यो वृद्धि अनुमानको तुलनामा भने धेरै कम रहेको विभागले जनाएको छ । यस वर्ष सरकारले ६ महिनामा भन्सारबाट ३ खर्ब ६ अर्ब १७ करोड राजस्व संकलन लक्ष्य राखेको थियो । तर, संकलन भने लक्ष्यको ६५ प्रतिशतमात्र भएको छ।

भन्सार विभागका अनुसार ६ महिनामा ६६ अर्ब ४९ करोडको डिजेल, ३३ अर्ब ९२ करोड बराबरको पेट्रोल तथा २५ अर्ब ४६ करोडको एलपी ग्याँस आयात भएको छ। ६ महिनामा विद्युतबाट चल्ने १३ अर्ब १२ करोड बराबरको सवारी साधान आयात भएका छन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।