माथिल्लो तामाकोशीको लिलामी सेयरको कति आयो कटअफ ? आयो प्रारम्भिक नतिजा


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामीको सेयरमा परेका सबै आवेदनको आधारमा अन्तिम मूल्य निर्धारण भएको छ । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले लिलामीको बोलकबोल खोल्न सुरु गरेको ३ दिनमा प्रारम्भिक कटअफ निकालेको हो ।

क्यापिटलका अनुसार आइतरसम्ममा भएको बोलकबोल खोल्ने काम अनुसार १४६ रुपैयाँसम्मका आवेदकले सेयर पाउने देखिएको छ । प्रारम्भिक तथ्याङ्क भएको र कतिपय आवेदकको चेक सटही हुन बाँकी नै रहेको अवस्थामा यो कटअफ मूल्यमा केही हेरफेर हुन सक्नेछ ।

३० हजार भन्दा बढीले आवेदन दिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको प्रारम्भिक अन्तिम नतिजा अनुसार १४६ रुपैयाँ हाराहारीको दरमा आवेदन गर्ने र सोभन्दा माथिको मूल्यमा आवेदन गर्ने सबैले सेयर पाउने निश्चित छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।