माउन्ट एभरेष्ट पावरले पौने २६ करोडको आईपीओ ल्याउने, एनआइएमबि एस क्यापिटलसँग सम्झौता

0
Shares

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले २५ करोड ८० लाख रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर बिक्री गर्ने भएको हो ।

सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा सम्झौता गरेको छ । सम्झौतापत्रमा माउन्ट एभरेष्ट पावरका तर्फबाट अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटलले कम्पनीको साधारण सेयर सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गर्नेछ ।

माउन्ट एभरेष्ट पावरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन हुनेछ ।

माउन्ट एभरेष्ट पावरले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ ।

सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।