हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बेच्दै

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर माघ १६ गतेदेखि बिक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको संस्थागत सेयर पुनः मूल्य घटाएर बिक्री खुला गरेको हो । यसअघि गत मसिंर २६ गते प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँका दरले बिक्री खुला गरेकोमा हाल प्रतिकित्ता २८० तोकेर पुन सूचना प्रकाशित गरिएको हो ।

कम्पनीका अनुसार सूचना सार्वजनिक भएको १५ दिन अर्थात माघ फागुन २ गतेसम्म विद्यमान संस्थापक सेयरधनी तथा अन्य योग्य इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख देखि बढीमा २० लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ । कम्पनीको केन्द्रीय कार्यलयमा निवेदन दिन कम्पनीले जनाएको छ ।

रितपूर्वक प्राप्त निवेदनहरु मध्येवाट सेयर बाँडफाँडको लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिईने र तत्पश्चात् बाँडफाँड हुन बाँकी शेयर अन्य आवेदनकर्तालाई बाँडफाँड गर्ने जनाइएको छ ।

एकाघरको परिवार, समूह तथा संस्थाको नाममा उक्त कम्पनीको सेयर १५ प्रतिशत भन्दा बढि नहुने स्वघोषणा पत्र समावेश गर्नुपर्नेछ । यस्तै नेपाली नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कालोसूचीमा नभएको प्रमाण, गत आर्थिक वर्ष सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, आयश्रोत खुल्ने कागजात र पूर्ण रुपमा भरेको नेपाल बीमा प्राधिकरणवाट तोकिएको विवरण फाराम (अनुसूची ४०) अनुसार निवेदन दिनुपर्नेछ । संस्थाको हकमा प्रवन्धपत्र, नियमावली, प्यान दर्ता, कम्पनी दर्ता र वित्तीय विवरण पनि समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।