‘अग्नि हायर पर्चेज’ को वार्षिक आम्दानी १०९ प्रतिशतले बढ्यो

0
Shares

व्यापारिक घराना अग्नि ग्रुपको लगानी रहेको अग्नि हायर पर्चेज प्रालिले आर्थिक वर्ष २०२३ मा ६ करोड ५० लाख आम्दानी गरेको छ ।

आव २०२२ मा ३ करोड १० लाख आम्दानी गरेको थियो । आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी १०९ प्रतिशतले बढेको हो ।

सन् २०१४ मा स्थापना भएको अग्नि हायर पर्चेज प्रालिले सन् २०२० को अक्टोबर महिनामा मात्रै हायर पर्चेसको लाइसेन्स पाएको हो । लाइसेन्स पाएसँगै कम्पनीले महिन्द्रा ब्रान्डको युटिलिटी भेइकल, प्यासेन्जर भेइकल र ट्रयाक्टर खरिदमा हायर पर्चेस सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०२३ मा कम्पनीको नेटवर्थ ३७ करोड ९० लाख रहेको छ । जुन आव २०२२ मा ३५ करोड ४० लाख थियो । आव २०२३ मा कम्पनीले ६५ करोड ८० लाख रुपैयाँ बराबरको सम्पत्ति व्यवस्थापन गरेको छ ।

कम्पनीमा क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ, अर्जुन प्रसाद शर्माको लगानी रहेको छ भने कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । कम्पनीले १ अर्ब ५० करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब ४५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।