देशभरका फिल्म हल आज बन्द


आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

नेपाल चलचित्र संघले एक दिनका लागि सांकेतिकरुपमा फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो ।सोही निर्णयमा समर्थन जनाउँदै क्यूएफएक्स सिनेमाजले हल बन्द गरेको जनाएको छ । चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ । कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने समेत जनाएको छ ।

‘सरकारले अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसाय धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा विरोधस्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएका हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौं ।’ क्यूएफएक्सले आफ्नो साइटमा भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार १२ : १५ बजे