अन्तिम समयमा टेलिकमको सेयर मूल्यमा सर्किट लागेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि

0
Shares

नेपाल टेलिकमको सेयर मूल्यमा अन्तिम समयमा सर्किट लागेपछि सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो पुँजीकरण रहेको टेलिकमको मूल्य दश प्रतिशतले बढेसँगै समग्र नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । वार्षिकोत्सवकै दिन कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको हो । आजै नेपाल टेलिकमको २० औं वार्षिकोत्सव मनाएको छ ।

कारोबारको अन्तिम दिनसम्म चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको हो । तीन कारोबार दिनको गिरावटपछि चौथो कारोबार दिनमा नेप्से बढेको हो ।

यसदिन नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत, पिपल्स पावर लिमिटेडको १० प्रतिशत, समाज लघुवित्त ९.९९ प्रतिशत, जोशी हाइड्रोपावरको ९.९६ प्रतिशत, गुराँस लघुवित्तको ७.६९ प्रतिशतले मूल्य बढेको छ । उता स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.७८ प्रतिशतले घटेको छ। यस्तै बिशाल बजार कम्पनीको ५.३६ प्रतिशत, चन्द्रागिरि हिल्सको ३.८३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ३.५८ प्रतिशत र आजै लाभांश प्रस्ताव गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य २.९० प्रतिशतले घटेको छ ।

सोमबार नेप्से परिसूचक ०.७० प्रतिशत बढेर २०७६.२७ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशत अर्थात ५.९५ अंक, फ्लोट इण्डेक्स ०.३५ प्रतिशत अर्थात ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ प्रतिशत अर्थात ०.८८ अंक बढेको छ ।

कारोबारमा आएको १३ उपसमूहगत सूचकमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ ओटाको घटेको छ । अन्य उपसमूहको सर्वाधिक ४.६८ प्रतिशत बढेको छ भने बाँकी सामान्य बढेका छन् । कारोबारमा आएका निर्जीवन बीमा, होटल तथा पर्यटनमुलक, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको परिसूचक घटेको छ ।

सोमबार ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर ५६ हजार ७७५ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन आइतबारको तुलनामा कारोबार रकम ७७ करोड ८७ लाख रुपैयाँले घटेको हो ।

यसदिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सेयर सर्वाधिक १८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कित्ताका आधारमा सर्वाधिक कारोबार भएको ङादी ग्रुप पावरको ४ लाख ४७ हजार ६६७ कित्ता सेयर १५ करोड ४६ लाख रुपैयाँमा खरिद बिक्री हुँदा हाथवे इन्भेष्टमेन्ट ८ करोड २३ लाख, चन्द्रागिरि हिल्सको ५ करोड ९९ लाख र रिडी पावरको ५ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ६३ अर्ब ७२ करोड ५५ लाख रुपैयाँमा समेटिएको छ । नेप्सेमा सूचकृत कम्पनीमध्ये नेपाल टेलिकम सबैभन्दा धेरै पुँजीकरण भएको कम्पनी हो । सोमबारको वृद्धिपछि कुल बजार पुँजीकरण १ खर्ब ७१ अर्ब २७ करोड छ । दोस्रो नबिल बैंकको १ खर्ब २८ अर्ब, तेस्रो नागरिक लगानी कोषको १ खर्ब ११ अर्ब र नेपाल रि इन्स्यारेन्सको १ खर्ब माथि बजार पुँजीकरण रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।