ब्याजदर घटेपछि करोड माथिका सेयर धितो कर्जा १५ प्रतिशतले बढे, व्यक्तिगत घरको कारोबारमा सुधार

0
Shares

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज घटाएसंगै ठूला आकारका सेयर धितोकर्जा पनि बढेका छन् । ब्याजदर घटेपछि सेयर लगानीकर्ताको मनोबलमा सुधार आएकाले पुँजी बजारको लगानी बढाउन कर्जा लिने क्रम बढेको हो ।

वित्तीय क्षेत्रको ब्याजदर सेयर बजारको गति विपरित हुने गर्छ । वित्तीय क्षेत्रको ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने गर्छ । चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा अधिक तरलतासंगै कर्जाको मागमा अपेक्षा अनुसार सुधार हुन नसक्दा ब्याजदर घटेको अवस्था छ । त्यसले गर्दा सेयर लगानीकर्ताले पुँजी बजार तर्फको लगानी बढाउन उत्प्रेरणा मिलेको हो ।

गत आर्थिक वर्षमा अनुत्पादक क्षेत्रको लगानी घटाउने भन्दै सेयर धितो कर्जामा केन्द्रीय बैंकले कडाई गर्यो । सेयर धितो कर्जामा कडाइ गरेसंगै सेयर बजार सूचक समेत घट्यो भने कर्जामा लगानी गर्ने लगानीकर्ता समेत घट्न थाले । त्यसपछि केन्द्रीय बैंकले असोज १८ गते निर्देशन जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा व्यीक्तगततर्फ १५ करोड रुपैयाँ तथा धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गर्यो । त्यसले पनि सेयर धितो कर्जा बढ्नमा थप मद्दत गरेको हो ।

सो भन्दा अघि केन्द्रीय बैंकले व्यक्तिगत तथा संस्थागत दुबैलाई कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड रुपैयाँ तोकेको थियो । त्यसका साथै जोखिम भार समेत बढाइ १५० प्रतिशत बनाएको छ ।

तर, चौतर्फि विरोध तथा धितोपत्र बजारमा देखिएको गिरावट र सुस्त आर्थिक गतिविधिका कारण केन्द्रीय बैंकले सेयर धितो कर्जामा पनि लचकता अपनायो । कर्जाको सीमा पनि बढायो भने जोखिम भार समेत घटायो । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाबाट प्रबाह हुने कर्जा बढेको सेयर लगानीकर्ताहरुको बुझाइ छ । “केन्द्रीय बैकले चालु आथिृक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत सेयर धितो कर्जाको जोखिम भार घटाएपनि सेयर धितो कर्जा झने बढेको छ,” एक लगानीकर्ताले भने,“त्यसमा पनि ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेपछि एक करोड वा सोभन्दा माथिका कर्जा उपभोग गरी सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या नै बढेको छ ।”

चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट कुल सेयर धितो कर्जा ८४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असार अन्तिमसम्मको तुलनामा १०.५ प्रतिशतले बढेको छ । गत असार अन्तिममा बबैंक वित्तीय संस्थाबाट प्रबाह भएको कुल सेयर धितो कर्जा ७६ अर्ब ३० करोड रुपैयाँ बरावरको थियो । गत आर्थिक वर्षको पुससम्ममा ७ प्रतिशतले घटेको सेयर धितो कर्जा चालु आवमा लचिलो कर्जा नीतिका कारण बढेको हो ।

चालु आवको पुससम्ममा सबैभन्दा धेरै एक करोड भन्दा माथिको सेयर धितो कर्जा बढेको छ । यो अवधिमा करोड भन्दा माथिका कर्जाको आकार ५१ अर्ब ३० करोड रुपैयाँ बरावरको रहेको छ । गत असारको तुलनामा यो कर्जा १४.७ प्रतिशतले बढेको हो । गत असारमा एक करोड भन्दा माथिको कुल सेयर धितो कर्जा ४४ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा एक करोड भन्दा माथिका कर्जाको आकार ७.९ प्रतिशतले घटेको थियो ।

चालु आवको ६ महिनामा ५० लाख देखि एक करोडसम्मका सेयर धितो कर्जा पनि बढेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार ५० लाख देखि एक करोडसम्मको कर्जाको आकार ८.६ प्रतिशतले बढेर १२ अर्ब ७८ करोड पुगेको छ । त्यसैगरी २५ लाख देखि ५० लाख सम्मको कर्जाको आकार २ र २५ लाखसम्मको कर्जा १.९ प्रतिशत बढेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले समग्र कर्जा नीतिमा कडाई गर्नुका साथै धितो मूल्याङकनमा समेत कडाइ गरेपछि ठप्प रहेको घरजग्गाको कारोबारमा खासै सुधार नआएपनि व्यक्तिगत आवसीय घरको कारोबार भने बढेको छ । केन्द्रीय बैंकले घरजग्गाको धितो मूल्याङकनमा केही खुकुलो नीति लिएसंगै तथा जोखिम भार पनि घटाएपछि व्यक्तिगत अवासिय घर कर्जा बढेको छ । घरजग्गाको कारोबार ठप्प भएपछि केन्द्रीय बैंकले २ करोडसम्मको व्यक्तिगत आवसीय घर कर्जाको नीतिलाइ खुकुलो बनायो । त्यसले गर्दा व्यक्तिगत घर कर्जा पनि साढे ९ प्रतिशतले बढेको छ ।

चालु आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट कुल ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ बरावरको २ करोडसम्मको व्यक्तिगत आवासिय कर्जा प्रबाह भएको छ । यो कर्जा गत असारमसान्तसको तुलनामा ९.४ प्रतिशतले धेरै हो । गत असार मसान्तसम्ममा बैंक वित्तीय संस्थाले ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ व्यक्तिगत आवासिय कर्जा लगानी गरेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।