अकामा होटेलले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँमा आईपीओ ल्याउने

0
Shares

अकामा होटेल लिमिटेडले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँमा आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने उदेश्य सहित विशेष साधारण सभा मार्फत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका ४, धुम्बाराहीमा रहेको अकामा होटेलमा फागुन १४ गते बिहान साढे ११ बजे विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । सभामा हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोही अनुसार सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै यस कम्पनीले अधिकृत, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सञ्चालक तथा सो अन्तर्गत गठित समितिका सदस्यहरुको पारिश्रमिक भत्ता तथा सुविधा निर्धारण गर्ने विषयमा छलफल गरी पारित हुनेछ ।

पछिल्लो समय सेयर बजारमा होटल तथा पर्यटनमुलक समुहमा सूचीकृत होटलहरुमा लगानीकर्ताको आकर्षण उच्च देखिएपछि अकामा होटल पनि सेयर बजारमा प्रवेश हुने भएको हो । उक्त होटलले सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो । सानिमा ग्रुपले काठमाडौंको धुम्बाराहीमा ‘अकामा होटेल’ सञ्चालन गरिरहेको छ ।

सानिमा ग्रुप मार्फत एनआरएनहरुको लगानी रहेको उक्त होटेलले “विश्वकै पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने” भन्ने नाराका साथ अकामा होटललाई स्थानीय नेवारी र हिमालयन संस्कृतिको फ्युजनका रूपमा प्रवर्द्धन गरेको छ । होटलमा स्वस्थ रहन स्वास्थ्य व्यायमशाला, रफ्रेशमेन्टको लागि पौडी पोखरी, सौना, स्टीम र जाकुजी, कफि सप, रेष्टुरेष्ट र स्मारिका पसल जस्ता सेवा समेत छन् । सभा सम्मेलनका लागि ८ हजार स्क्वारफुटको चार वटा कन्फरेन्स हल र व्यक्तिगत, पारिवारिक तथा सामुहिक बसोबासका लागि उपयुक्त हुने खालका विभिन्न सात प्रकारका कोठाहरु उपलब्ध छन् ।

काठमाडौंको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा अकामा होटल अब विश्व विख्यात ब्राण्ड ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट सञ्चालन हुँदैछ । अकामा होटल र विश्व विख्यात ब्राण्ड रमडाबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । होटललाई ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट सञ्चालन गर्नेगरी माघ १७ गते बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  सन् २०१४ मा स्थापना भएको चारतारे होटल सन् २०२२ मा प्राइभेट लिमिटेडबाट लिमिटेडमा रुपान्तरण भएको हो । करिब ९ रोपनी जमीनमा निर्माण भएको यो होटल काठमाडौंको धुम्बराईमा अवस्थित छ । होटलमा सानीमा ग्रुपको लगानी रहेको छ । जसकारण होटललाई वित्तीय तथा प्राविधिक सहयोग मिलिरहेको छ । होटलका महाप्रबन्धक भरत कुमार जोशी हुन् । उनको नेतृत्वमा होटलको सम्पूर्ण कामहरु सञ्चालन हुँदै आएको छ ।

सानिमा ग्रुपबाट प्रवर्द्धिधत यो होटेल सुरुमा चारतारेबाट सञ्चालित भई २०८० मङ्सिर २९ मा स्तरोन्नती भई पाँचतारे अकामा होटल भएको थियो । अब छिट्टै नै अमेरिक चेन होटल ब्राण्ड रमडा वाई विन्डमको नामबाट सञ्चालन हुने र यसबाट होटल उच्चस्तरीय सुविधायुक्त हुने कम्पनीले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरीबाट सफ्ट लञ्च भई सोही वर्षको करिव अन्त्यबाट पूर्ण रुपमा सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको रमडा वाई विन्डम ब्राण्डबाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण भएको कम्पनीको भनाई छ ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरियर–९५, डिलक्स– ६, डिलक्स स्विट– ४, फेमिली स्वीट– २, प्रेसिडेन्टल स्वीट– १ गरी जम्मा १०८ कोठाहरु र २०० बेड संख्या छन् । न्यूनतम २० देखि ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ ओटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तीन वटा ओटा साउना, ज्याकुजी र स्पा रहेका छन् । होटलमा हाल १३० जना विभिन्न तहतप्का कर्मचारीहरु कार्यरत छन् । होटलमा दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत छ।

अकामा होटल विश्व विख्यात ब्राण्ड ‘रमडा’ को नामबाट सञ्चालन हुने

त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतिनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर, दरबार स्क्वायर, स्वयम्भुनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरु नजिक रहेको यो होटल ‘रिङ रोड’ को मध्य भागमा अवस्थित छ ।

व्यापारिक घराना सानीमा ग्रुप अफ कम्पनीजको लगानी रहेको अकामा होटल लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा १७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा १० करोड सञ्चालन आम्दानी गरेको होटलको आम्दानी गत आर्थिक वर्षमा ७६ प्रतिशतले बढेको हो । गत आवमा पर्यटकहरुको आगमनमा भएको वृद्धिसँगै कम्पनीको आम्दानी बढेको हो ।

  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।