अकामा होटल विश्व विख्यात ब्राण्ड ‘रमडा’ को नामबाट सञ्चालन हुने

0
Shares

काठमाडौंको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा अकामा होटल अब विश्व विख्यात ब्राण्ड ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट सञ्चालन हुने भएको छ । बुधबार आयोजित विशेष कार्यक्रममा अकामा होटल र विश्व विख्यात ब्राण्ड रमडाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अर्न्तराष्ट्रिय स्तरको लोकप्रिय तथा प्रतिष्ठित चेन होटेल बिन्डम होटल्स एण्ड रिर्सोटसँग फ्रेनचाईजीका लागि सम्झौता गरिएको होटेलले जानकारी दिएको छ । सानिमा ग्रुपबाट प्रवर्द्धित यो होटेल सुरुमा चारतारेबाट सञ्चालित भई २०८० मङ्सिर २९ मा स्तरोन्नती भई पाँचतारे अकामा होटल भएको थियो । अब छिट्टै नै अमेरिक चेन होटल ब्राण्ड रमडा वाई विन्डमको नामबाट सञ्चालन हुने र यसबाट होटल उच्चस्तरीय सुविधायुक्त हुने कम्पनीले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरीबाट सफ्ट लञ्च भई सोही वर्षको करिव अन्त्यबाट पूर्ण रुपमा सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको रमडा वाई विन्डम ब्राण्डबाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण भएको कम्पनीले उल्लेख गरेको छ । यसबाट नेपालको पर्यटन, होटल तथा आतिथ्यताको क्षेत्रमा योगदान पुग्न गई पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास होटेलले व्यक्त गरेको छ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरियर–९५, डिलक्स– ६, डिलक्स स्विट– ४, फेमिली स्वीट– २, प्रेसिडेन्टल स्वीट– १ गरी जम्मा १०८ कोठाहरु र २०० बेड संख्या छन् । न्यूनतम २० देखि ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ ओटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तीन वटा ओटा साउना,ज्याकुजी र स्पा रहेका छन् । होटलमा हाल १३० जना विभिन्न तहतप्का कर्मचारीहरु कार्यरत छन् । होटलमा दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत छ ।

त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतिनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर, दरबार स्क्वायर, स्वयम्भुनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरु नजिक रहेको यो होटल ‘रिङ रोड’ को मध्य भागमा अवस्थित छ । यस अकामा होटलले निकट भविष्यमा सर्वसाधारण जनतामा समेत सेयर जारी गर्ने तयारी गरी अघि बढिसकेको समेत कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।