बुढानिलकण्ठ हेरिटेजले जारी पुँजीको १५ प्रतिशत आईपीओ ल्याउने


बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रति सेयर अंकित मूल्य १०० अंकति दरको १५ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याउने भएको छ ।

सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच आईपीओ सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

२०८० माघ २३ गते मंगलबारका दिन बुढानिलकण्ठ, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

वि.सं. २०७५ सालमा प्रालिको रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरुको ८५ करोड रुपैयाँ लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

अन्तर्राष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो पाँचतारे होटल निर्माण गरेको छ । आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दाबढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् ।

लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर–मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ । यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ । लेमन ट्री होटल्स लिमिटेडले नेपालमा पहिलो होटलको रुपमा “लेमन ट्री प्रिमियर बुढानिलकण्ठ” काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातीप्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार १८ : ३३ बजे