हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म खराब वित्तीय अवस्था रहेको रिर्पोट सार्वजनिक गरेको छ । कम्पनीको बिक्री आम्दानी २२.४९ प्रतिशतले घट्दा खुद मुनाफामा ४४.३८ प्रतिशतको उच्च गिरावट आएको छ ।मदिरा उत्पादक यस कम्पनीको पुस मसान्तसम्ममा मदिराजन्य सामाग्रीको बिक्री आम्दानी घटेसँगै त्यसको सोझो असर खुद नाफामा परेको हो ।
पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बिक्री आय गत आवको यसै अवधिमा २ अर्ब ४४ करोड ९६ लाख ५५ हजार रहेकोमा २२.४९ प्रतिशतले घटेर १ अर्ब ८९ करोड ८८ लाख १६ हजार रुपैयाँमा संकुचित बनेको छ । अन्य आम्दानी भने ६१लाखबाट बढेर १ करोड ७१ लाख बढी पुगेको छ । यद्यपी मुख्य स्रोत मदिराको खपत घटेपछि कम्पनीको मुनाफामा धक्का लागेको हो ।
यस्तै गत आवको पुसमा २९ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा रहेकोमा ४४.३८ प्रतिशतले घटेर चालु आवको दोस्रो त्रैमाससम्म १६ करोड ३६ लाख ५६ हजारमा संकुचित बनेको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफामा आएको उच्च गिरावटका कारण कम्पनीको प्रति सेयर आम्दानी समीक्षा अवधिमा ११ रूपैयाँ ९७ पैसा घटेको छ । चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रहेको यस कम्पनीको वार्षिक १२ रुपैयाँ २५ पैसामा झरेको छ । गत आवको पहिलो त्रैमासमा वार्षिक २४ रुपैयाँ २२ पैसा थियो ।
पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात १३९.७९ गुणा छ । कम्पनीको अन्य आम्दानी १३.६३ प्रतिशतले कमी आई ४८ करोड १५ लाख १ हजार रुपैयाँ छ ।
कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक लगायत मदिरा उत्पादन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाका कारण बैंकले प्रवाह गर्ने ऋणमा कडाइ, चालु पुँजीको अभाव र ब्याजदरमा अत्यधिक वृद्धिले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ ।
पुससम्म कम्पनीको बिक्री खर्च पनि १५.४३ प्रतिशतले घटेर १९ करोड ८२ लाख ३० हजार र प्रशासनिक खर्च ५.४६ प्रतिशतले घटेर ३ करोड ३२ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
