सेयर बजारमा दोहोरो अंकको गिरावट, सूचक २०८५ बिन्दुमा

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्ला चार कारोबार दिनमा सुधार देखिएको बजार पाँचौं दिनमा सुरुवातदेखि नै बिक्री चाप अधिक हुँदा घटेर बन्द भएको हो । यसदिन बजार सूचक नेप्से सूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा कायम भएको हो । आइतबार सेन्सेटिभ इण्डेक्स ३.८९ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ ।

आइतबार ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ८३ हजार ८७७ पटक खदि बिक्री हुँदा कारोबार रकम ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा समेटिएको छ ।अघिल्लो दिन बिहीबार ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको १९ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा आइतबार कारोबार रकम ८७ करोड ३४ लाख रुपैयाँले बढेको हो ।

कारोबारमा आएको १३ उपसमूहगत सूचकमध्ये विकास बैंक, जलविद्युत र म्युचुअल फन्ड मात्रै सामान्य बढेको छ भने बाँकी दश ओटै घटेका छन् । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.३८ प्रतिशतले घट्दा होटल तथा पर्यटनमुलक १.५९ र ब्यापारको सूचाङ्क १.५५ प्रतिशतले घटेका छन् ।

यसदिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सेयर सर्वाधिक ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत आर्थिक वर्षबाट ४ प्रतिशत बोनसपछि ८० प्रतिशत हकप्रद प्रस्ताव राखेर साधारण सभा आह्वान गरेपछि कम्पनीको आज ५ रुपैयाँ ९० पैसाले मूल्य बढेर उच्च कारोबार भएको हो । यस्तै एनआरएन इन्फ्रास्टक्चरको १२ करोड ४ हजार रुपैयाँमा खरिद बिक्री हुँदा हिमालयन डिष्टिलरी ९ करोड २३ लाख, एनआईसी एशिया बैंक ८ करोड ४२ लाख र हाथवे इन्भेष्टमेन्टको सेयर ८ करोड २३ लाख रुपैयाँ माथिको खरिद बिक्री भएको छ ।

यसदिन समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशतले उकालो लागेको छ । यस्तै त्रिशुली जलविद्युतको ६.४१ प्रतिशत, दोर्दीखोला जलविद्युतको ५.०८ प्रतिशत र मायाखोला हाइड्रोपावरको सेयर मूल्य ४.९० प्रतिशतले बढेको छ ।

आजको एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई मूल्य १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपाल लिमिटेडको पनि ७.१५ प्रतिशतले सेयरको भाउ ओरालो लागेको छ । गुराँस लघुवित्तको ७.१३ प्रतिशतले घट्दा गणपति लघुवित्त ४.६६ र किसान लघुवित्तको सेयर मूल्य ४.४७ प्रतिशतले घटेको छ ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७८ अर्ब ७३ करोड ३७ लाख ६८ हजार रुपैयाँमा समेटिएको छ । बिहीबार ३२ खर्ब ९५ अर्ब २४ करोड २६ लाख थियो । आइतबार मात्रै १६ अर्ब ५० करोड ८९ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।