सर्वोत्तम सिमेन्टको आयोजना प्रभावितको आईपीओ बाँडफाँड, सबै आवेदकले पाए मागेजति सेयर

0
Shares

सर्वोत्तम सिमेन्टले आयोजना र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ७३.२८ प्रतिशत अवितरित भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले बुधबार सेयर बाँडफाँड गरेका हुन् । कुल ९ लाख ३० हजार कित्ता सेय जारी भएकोमा ६ लाख ८१ हजार ५३० कित्ता सेयर खरिदका लागि आवेदन नपरेको हो ।

कम्पनीले पुस २५ देखि माघ २५ सम्म स्थानीयका लागि ९ लाख ३० हजार कित्ता सेयर खरिदका लागि आवेदन खुलाएको थियो । सो बमोजिम १ हजार २२४ जनाले कुल २ लाख ४८ हजार ४७० कित्ता सेयर खरिदका लागि मात्र आवेदन दिएका हुन् । धेरैले बहिस्कार गरेपछि सबै आवेदकले मागे जति नै सेयर पाएका छन् ।

आईपीओमा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अंकित मूल्यमा सेयर जारी गर्नुपर्ने माग राख्दै स्थानीयले कम्पनीको सेयर बहिस्कार गरेका हुन् । स्थानीय बासिन्दाले नकिनेको ६ लाख ८१ हजार ५३० कित्ता सेयर अब सर्वसाधारणका लागि निष्कासन हुने सेयरमा थप गरेर बिक्री हुला हुनेछ । यसै हप्ता आवेदन खुला गर्ने तयारी बिक्री प्रबन्धकको छ ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । त्यसैगरी योग्य संस्थागत लगानीकर्तालाई कटअफ प्राइस ४०१ रुपैयाँमा सेयर बाँडफाँड गरिएको थियो । संस्थागत लगानीकर्तालाई बिक्री गरेको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुँदा प्रतिकित्ता सेयरको मूल्य ३६० रूपैयाँ ९० पैसा कायम भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।