माघ महीनामा ९७ करोड पुँजीगत लाभकर संकलन

0
Shares

सरकारले धितोपत्र बजारमा सेयर खरिद बिक्रीको नाफामा लाग्ने पुँजीगत लाभकर वापत माघ महीनामा ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को तथ्यांक अनुसार पुसको तुलनामा माघमा ३०.६६ प्रतिशत अर्थात २२ करोड ८१ लाख रुपैयाँले पुँजीगत लाभकर बढेको हो । पुसमा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यसअघि मङ्सिरमा सरकारले ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको थियो ।

पुस महीनाको तुलनामा धितोपत्र दोस्रो बजार घटेपनि सरकारको संकलन गर्ने लाभकर रकम भने बढेको हो । अल्पकालीन लगानीकर्ताले छोटो समयमै नाफा सुरक्षित गरी सेयर बिक्री गर्दा अघिल्लो महीनाको तुलनामा अल्पकालीन पुँजीगत लाभकर रकम बढेको हो । पुस महीनाको अन्तिम कारोबार दिन पुस २९ गते आइतबार २१२०.६२ बिन्दुमा रहेको नेप्से परिसूचक माघ महीनाको अन्तिम कारोबार दिन माघ २९ गते सोमबार १९.४६ अंकले घटेर २१०१.१६ बिन्दुमा झरेको छ।

माघ महीनामा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । माघमा अघिल्लो महीनाको तुलनामा अल्पकालीन लाभकर रकम २१ करोड ६९ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो महीना पुसमा अल्पकालीन लगानीकर्ताबाट ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ लाभकर संकलन भएको थियो ।

यसैगरी माघमा संस्थागत लगानीकर्ताबाट संकलन हुने लाभकर बढेपनि दीर्घकालीन लगानीकर्ताबाट संकलन हुने लाभकर भने घटेको छ । पुसमा संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ संकलन भएकोमा माघमा २ करोड ९ लाख रुपैयाँले बढेर ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ ।

माघ महीनामा दीर्घकालीन लगानीकर्ताबाट १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ लाभकर संकलन भएको छ । पुसमा १७ करोड २८ लाख ९९ हजार रुपैयाँभन्दा बढी दीर्घकालीन लाभकर संकलन भएकोमा ९७ लाख ४२ हजार १२७ रुपैयाँले घटेको हो । माघ महीनामा दीर्घकालीन लाभकर घट्नु र अल्कालीन लगानीकर्ताहरुबाट संकलन हुने लाभकर बढ्नुले छोटो समयमा नै नाफा सुरक्षित गर्ने लगानीकर्ताहरुको संख्या बढ्दा पुँजीगत लाभकर संकलन बढेको देखिन्छ ।

सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट नाफा कमाएबापत अल्पकालीन लगानीकर्ताबाट ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट ५ प्रतिशत पुँजीगत लाभकर संकलन गर्ने गरेको छ । यस्तै संस्थागत लगानीकर्ताहरुले भने सरकारलाई नाफा रकमको १० प्रतिशत लाभकर बुझाउनुपर्ने हुन्छ ।

माघमा सरकारले संकलन गरेको कुल पुँजीगत लाभकरमा अल्पकालीन लगानीकर्ताको हिस्सा ७६.२८%, दीर्घकालीन लगानीकर्ताको हिस्सा १६.७८% र संस्थागत लगानीकर्ताको हिस्सा ६.९४% मात्र छ । यसले पनि सेयर कारोबारमा अधिकांश हिस्सा अलप्कालीन कारोबार गर्ने व्यक्तिगत लगानीकर्ता रहेको देखिन्छ । त्यसपछि दीर्घकालीन लगानीकर्ता र छ भने संस्थागतको संख्या न्यून देखिन्छ । सेयर बजारको दिगो वृद्धि र तीव्र उतार–चढावलाई न्यूनिकरणमा व्यक्तिगत भन्दा संस्थागत लगानीकर्ताको संख्या अधिक हुनु राम्रो मानिन्छ ।

पछिल्लो समय सरकारले गरेको व्यवस्था अनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५% र एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ७.५% पुँजीगत लाभकर तिर्नुपर्छ ।  भारित औसत लागतका आधारमा पुँजीगत लाभकर गणना हुँदै आएको छ । नाफा कमाएको खण्डमा सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ भने घाटामा सेयर बिक्री गरेको खण्डमा पुँजीगत लाभकर तिर्नुपर्दैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।