राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा पुगेका छन् । हिजोदेखि बागलुङ्गमा प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पुगेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको ५ हजार ५५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ पुगेका हुन् । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौं धार्मिक संरचना बनिसकेका छन् ।

पञ्चकोटमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब २ करोड खर्च लागेको अनुमान छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फागुन २०८०, बिहीबार ११ : ३७ बजे