सेयर बजारको ओरालो यात्रा छैटौं दिनमा, आइतबार २६.८१ अंकले घट्यो

0
Shares

सेयर बजार पछिल्लो ६ कारोबार दिनदेखि ओरालो गतिमा रहेको छ । फागुन १३ गते आइतबार २६.८१ अंकले घटेसँगै बजार मापक नेप्से १९७९.०२ अंकमा झरेको छ । यसबीचको ६ कारोबार दिनमा नेप्से ९७.४६ अंकले घटेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.७४ अंक, फ्लोट इण्डेक्स १.९२ अंक, सेन्सेटिभ इण्डेक्स २.०४ अंक घटेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये २ ओटा बढ्दा ११ ओटा घटेको छ । फाइनान्स १.४० प्रतिशतले बढेको हो भने उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ०.८० प्रतिशतले बढेको हो । जलविद्युत २.४२ प्रतिशत, बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटनमुलक, लगानी, लघुवित्त, अन्य र ब्यापारको इन्डेक्स पनि एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आइतबार ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर ७१ हजार ८८० ओटा संख्याबाट ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार ३०९ कम्पनीको ९५ लाख १८ हजार कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । बजार ओरालो लागेपछि अघिल्लो दिनको तुलनामा आज दैनिक कारोबार रकम ११ करोड ९२ लाख रुपैयाँले घटेको हो । आइतबार कारोबारमा आएका ३१७ कम्पनी मध्ये ६४ ओटाको सेयर मूल्य बढेको छ भने २४२ ओटाको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट २३.८०% बोनस सेयर वितरणको प्रस्ताव गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । कम्पनीको २५ करोड १८ लाख १२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै जोशी हाइड्रोपावरको ११ करोड ३ लाख, हिमालयन रि इन्स्योरेन्सको ११ करोड १ लाख, गोर्खाज फाइनान्सको १० करोड ७५ लाख र ङादी ग्रुप पावरको ८ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आइतबार बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको १४ हजार ७५६ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै चिरख्खवा हाइड्रोपावरको ८.५५ प्रतिशत, धौलागिरी लघुवित्त ६.६६, गोर्खाज फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

उता समाज लघुवित्तका लगानीकर्ताले आजको बजारमा १० प्रतिशतले गुमाएका छन् । समाज लघुवित्तको २ करोड २८ लाख चुक्ता पुँजी तथा सर्वसाधारणमा जम्मा ८६ हजार कित्ता सेयर जारी गरेको कम्पनीमा एक दुई जनाले सबै सेयर किन्नसक्ने भएकाले वार्षिक करिब १५ रुपैयाँ नोक्सानीमा रहेपनि कम्पनीको सेयरमूल्य अत्याधिक उचालिएको थियो । यस लघुवित्तको सेयरमा पम्पिङ्ग गरिएकाले मूल्य घट्न थालेपछि उच्चतम मूल्यमा खरिद गर्ने लगानीकर्ता नराम्रोस्ँग फस्ने जोखिम बढेको छ । ऋणात्मक सर्किट लागेर घटेसँगै कम्पनीको सेयरको भाउ १९५८ रुपैयाँ ७० पैसामा झरेको छ ।

यस्तै मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाउँदा प्रतिकित्ता ५६२ रुपैयाँ ५० पैसामा अन्तिम पटक सेयर कारोबार भएको छ। आज सामलिङ्ग पावरको ९.५६ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.२१ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयरको भाउ ७.७७ प्रतिशतले घटेको छ ।

आइतबारको बजार घटाईपछि कुल बजार पुँजीकरण घटेर ३१ खर्ब १० अर्ब ८५ करोड ५८ लाख रुपैयाँमा समेटिएको छ । बुधबार बजार पुँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ थियो । आज मात्रै ४२ अर्ब १५ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।